
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । उर्लाबारीका प्रवीन बाँस्तोला घटनामा प्रहरीले अहिले कडाइका साथ अनुसन्धान गरिरहेको छ । प्रहरीले यस घटनामा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ का घरधनी रमेश गिरि रहेका छन् ।
उनलाई आइतबार राति जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । प्रहरीमा अनुसार मृत्यु भएको उक्त रात रमेश गिरिको घरमा रहेको साथीको डेरामा प्रवीण सुतेको जनाएको छ ।
उर्लाबारीमा गत पुस ५ गते साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीणको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई ज्यान लिइएको हुनसक्ने बताएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।
मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनामा अनुसन्धान शुरु गरेको थियो । प्रवीणको मृत्यु घटनामा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ ।
गएको बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij