
Aug 16 2025 | २०८२, साउन ३१ गते
उक्त भवन १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनबाट आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने उल्लेख गर्नुभयो ।
उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने बताउनुभयो । साथै ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मुल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले नवनिर्मित भवनले प्रहरी कर्माचारीमा नयाँ उर्जा दिई प्रहरीको कार्य सम्पादन अझ बढी प्रभावकारी हुने उल्लेख गर्नुभयो । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रज्वल महर्जनले धन्यवाद ज्ञापन तथा प्रहरी नायव उपरीक्षक ई रोशन सारु मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त भवन राष्ट्रिय पुननिर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ४२८२।४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij