Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मिटर व्याजको लोभमा डुब्यो दिवाकरको दुनिया !

मिटर व्याजको लोभमा डुब्यो दिवाकरको दुनिया !

  • एसपी प्रज्वल महर्जनले करिब तीस उजुरीलाई नत्थी गरेर अध्यक्ष दिवाकर श्रेष्ठबारे सोधखोज गरिरहँदा शनिबार साँझ गुड न्यूज आयो, ‘सर, हामीले टार्गेट छोप्यौं ।’

    onlinepatrika
    Arghakhachi


    AGNI GROUP

    ललितपुर । चैत्र २ गते सोमबार बिहानैदेखि गुडविल बचत तथा ऋण सहकारी संस्थाकी एक कर्मचारी जावलाखेलस्थित प्रभु बैंकमा कुरिरहिन् । एक घण्टा समय दिएपनि दिउँसो १२ बजेसम्म कुनै खबर आएन । संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले केही रकम पठाउने आश्वासन दिएपछि कर्मचारी कुरेर बसेकी थिइन् । तीन घन्टासम्म पैसाको कुनै खबर नआएपछि एक पुरुष कर्मचारीलाई संस्थाको चाबी दिँदै भनिन्, ‘नगद काउन्टरमा दुई लाख पचास हजार छ, पैसा लिन आउनेलाई त्यो भएपनि बाँडिदिनु ।’

    पुरुष कर्मचारी संस्थामा पुग्दा होहल्ला र भीडभाड भैसकेको थियो । सिइओ दिवाकर करिब ६५ करोड आर्थिक अपचलन गरेर भागेकोमा प्रहरीले चितवनबाट समातेर ल्याएपछि आफ्नो डुबेको रकम फर्काउन उपभोक्ता यसरी थुप्रिएका हुन् । सहकारी संस्थाले १३ करोड ऋण प्रवाह गरेको रेकर्ड छ । यो प्रकरणमा न्यूरोडमा संचालित वटु महाबौद्ध गुडविल सहकारीको कनेक्सन पाइएको छ । कुमारीपाटीमा सञ्चालित सहकारीका पदाधिकारीहरू केही पारिवारिक सदस्य उता कार्यरत छन् । पैसाको कारोबारमा पनि यी दुई संस्था अपारदर्शी भएको बताइएको छ । यताको प्रकरणपछि न्यूरोडस्थित सहकारीका पदाधिकारीहरूसमेत सम्पर्कविहीन छन् ।


    चैत्र ५ गते जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँको अध्यक्षतामा सामूहिक बैठक् बस्यो । यो बैठक बसिरहँदा उता प्रहरी परिसर जावलाखेलकी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको मोबाइलमा पटकपटक फोन बज्यो । ‘यो प्रकरणलाई सहज ढंगले हेरिदिनुहोला । अलिकति लचकता अपनाइदिनुहोला ।’ एसएसपी किरणले ललितपुरकै चर्चित संघको नामबाट आएको फोनमा ‘हुन्छ, हुन्छ’ भन्दै प्रतिक्रिया दिइन् ।

    परिसरमा यस्तो वार्ता चलिरहँदा बचत संघको छलफल कक्षमा कुरा मिलाउन हम्मेहम्मे भयो । अध्यक्ष बजगाईँले भने, ‘सबै संचालक यहीँ हुनुहुन्छ, म सातदिनको म्याद दिन्छु’ दिवाकरलाई ल्याउनुस्, यदि सक्नुहुन्न भने प्रहरीकोमा उजुरी पुग्नेछ ।’ बजगाईँले यति बोलिरहँदा सञ्चालककै अघि निक्षेपकर्ताहरूले ‘मेरो दश लाख, मेरो एक करोड पैसा जम्मा गरेँ’ भनेर हिसाब टिपाउँदै थिए ।

    गुडविलका अध्यक्ष दिवाकरकै नेतृत्वमा बनेको सञ्चालक समितिमा कलिलो उमेरका अनुहार समावेश छन् । करिब १८ बर्षदेखि २६ उमेरका अनुहारहरू गुडविल सहकारीका सञ्चालक हुन् । दिवाकरका ससुरा गोविन्द महर्जनले भने, ‘म पनि सञ्चालकभित्र रहेछु, आठ वर्षपछि कार्यालयमा पुगेको हुँ’ उनले भने, ‘ठूलो बदमासी पो गरेछ ज्वाईँले ।’

    यसो त गुडविलका अध्यक्ष दिवाकरको रहनसहन र दैनिकी निकै भिन्न छ । प्रतिष्ठित दर्जामा दरिएका दिवाकरले आफ्नो लागि दुई करोडको गाडी, श्रीमती जेनीको लागि डेढ करोडको र छोराछोरीको लागि ४० लाख पर्ने गाडीको व्यवस्था गरेका थिए ।

    परिसरका एसपी प्रज्वल महर्जनले करिब तीस उजुरीलाई नत्थी गरेर अध्यक्ष दिवाकर श्रेष्ठबारे सोधखोज गरिरहँदा शनिबार साँझ गुड न्यूज आयो, ‘सर, हामीले टार्गेट छोप्यौं ।’

    एसएसपी प्रमुख किरण बज्राचार्यले दिवाकर पक्राउ परेको खबरलगत्तै पैसा राखेकाहरूलाई सम्पर्कमा आउन आह्वान गरिन् । मंगलबार दिउँसो तीनबजे परिसरका एसपी महर्जन भन्दै थिए, ‘अहिलेसम्म ७० वटा उजुरी परेको छ ।’ निक्षेपकर्ताले उल्लेख गरेको जम्मा सञ्चित रकम करिब २० करोड हुन आउँछ । परिसरकै हिरासतमा राखिएका दिवाकरले कोही कसैलाई भेट्न चाहेका छैनन् । उनकै परिवारसँग भेट्ने बेलामा पनि रुँदै भन्ने गरेका छन्, ‘मिटर व्याजको लोभले फसेँ । साथीहरूले फसाए ।’

    यस प्रकरणले ललितपुरका नाम चलेका अन्य सहकारीहरूमाथि पनि निगरानी बढेको छ । यो प्रकरणले सहकारीलाई निकै अप्ठ्यारोमा पारेको छ । ललितपुरका एक अग्रज सहकारीकर्मीले भने, ‘निक्षेपकर्ताको पैसालाई मनोमानी ढंगले खर्च गर्दा यस्तो अवस्था आएको हो ।’ ‘मिडियाले हाम्रो साखमाथि पनि धावा बोलेको छ’ फाइनान्सका सीइओ सरोजकाजी तुलाधरले भने, ‘एउटाको बदमासी समाचार बनिरहँदा मिडियाले हामीलाई समेत मुछ्यो ।’

    - जनआस्थाबाट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट