
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।
गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । त्यही आधारमा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यस मुद्दामा जिल्ला अदालत काठमाण्डौको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुई जना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही पाँच र १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच वटा मुद्दा चलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij