
May 15 2025 | २०८२, जेठ १ गते
काठमडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत आर्थिक वर्ष २०७९–८० मा ७ वटा कम्पनीलाई मात्रै हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । सेबोनले ६ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीलाई गरी कुल १५ अर्ब ९८ करोड २४ लाख २० हजार ७०।७८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको हो ।
यी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ करोड ९८ लाख २४ हजार २००।७१ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएका छन् । गत आर्थिक वर्षमा राधी विद्युत, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पवार डेभलपमेन्ट, अपर तामाकोशी र मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासनको अनुमति पाएका छन् ।
यीमध्ये राधी र हिमाल दोलखा हाइड्रोपावरले हकप्रद बिक्री खुला गरिसकेका छन् भने नेसनल हाइड्रोपावरले हकप्रद बिक्री खुला गरिरहेको छ । अन्य कम्पनीको भने हकप्रद निष्कासनको प्रक्रियामा रहेको छ । अघिल्लो वर्ष २०७८–७९मा सेबोनबाट ११ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका थिए ।
जसमा ४ वटा जलविद्युत कम्पनी, ३ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनी छन् । यी कम्पनीहरुले कुल ४ अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४।९२ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएका थिए । हाल सेबोनको पाइपलाइनमा अझै ३ वटा जलविद्युत कम्पनी र एउटा विकास बैंकको हकप्रद सेयर निष्कासनको अनुमति पर्खाइमा छन् ।
हाल पाइपलाइनमा छ्याङ्दी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, हिमालयन ऊर्जा विकास र नारायणी डेभलपमेन्ट बैंक छन् । यी सबैले १०० प्रतिशत हकप्रद ल्याउन अनुमति मागेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij