Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भदौ २३ र २४ गतेका दिन भएको जेनजी आन्दोलनका क्रममा प्रहरीका सामाग्री र अन्य सार्वजनिक सम्पत्तिहरू लुटपाट भएको घटनापछि प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न होस्टलहरूमा स्वीप अपरेसन (तलासी अभियान) सञ्चालन गरेको छ। सो क्रममा प्रहरीले केही सामाग्रीहरू फेला पारेको बताइएको छ।
यस घटनापछि होस्टल व्यवसायी संघ नेपालले आकस्मिक बैठक गर्दै आफ्नो सदस्य होस्टलहरूलाई सावधानी अपनाउन र आन्तरिक सर्च अभियान चलाउन आग्रह गरेको छ। संघले जारी गरेको सूचना अनुसार, प्रत्येक होस्टलले तुरुन्तै आन्तरिक रूपमा सर्च गर्नुपर्ने जनाएको छ। संघले भनेको छ, “यदि प्रहरी वा सार्वजनिक सम्पत्तिका कुनै सामाग्री फेला परेमा तुरुन्तै संघको कार्यालयसँग समन्वय गरी सम्बन्धित प्रहरी निकायमा बुझाउन सहयोग गर्नुहोला।” प्रहरी प्रशासनले पनि यस विषयमा आवश्यक सहजीकरण गर्ने जनाएको छ।
जेनजी आन्दोलनका क्रममा लुटपाट भएका प्रहरीका सामाग्री काठमाडौंका केही होस्टलहरूमा फेला परेपछि होस्टल व्यवसायी संघ नेपालले सबै सदस्यलाई आन्तरिक सर्च सञ्चालन गर्न आग्रह गरेको छ।
स्रोतका अनुसार, हालसम्म फेला परेका सामाग्रीहरूमा प्रहरीका हेल्मेट, डन्डा, रेकर्डिङ उपकरणलगायतका वस्तुहरू रहेको बताइएको छ। होस्टल सर्च अभियानको क्रममा एकजना विद्यार्थीले प्रहरी अड्डाबाट उठाएको सामान घर पु¥याएको थियो । प्रहरी स्रोतले भने, ‘अभिभावक आफैले हामीलाई सम्पर्क गरेर घटनाको बारेमा जानकारी दिएको थियो ।'
प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सीसीटीभी फुटेज र स्थानीय सूचनाहरूको विश्लेषण गरिरहेको छ। साथै, प्रहरी प्रशासनले होस्टल व्यवसायीसँग आन्दोलन हुँदाको समयको सीसीटिभी फुटेज समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।
होस्टल व्यवसायी संघका अध्यक्ष सुनिल भेटवालले अनलाइन पत्रिकालाई भने, “हाम्रो उद्देश्य प्रहरी प्रशासनलाई सहयोग गर्नु र होस्टल व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउनु हो। कुनै होस्टलमा यस्तो सामान पाइएमा तुरुन्तै कानुनी प्रक्रिया अनुसार बुझाइनेछ।”
जेनजी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा हिंसात्मक घटना, तोडफोड र लुटपाट भएका थिए। त्यसपछि प्रहरीले पक्राउ, तलासी र सामाग्री फिर्ता अभियान तीव्र बनाएको छ। संघको यो कदम कानुनी सहयोग र पारदर्शिता कायम राख्ने उद्देश्यले गरिएको संघकी महासचिव सुनिता बाटाजुले बताउनुभयो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij