Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन।
सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ। अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ।
वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए। स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतिर अघि बढिरहेका बेला गोली चलेपछि सहभागीहरू भागाभाग गर्न बाध्य भएका थिए। त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो।
वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे नियमित जानकारी लिइरहेको र स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको बताएका छन्। उनले पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरे।
प्रत्यक्षदर्शी फेथ आदिया हन्टरका अनुसार उनीहरू खाना किनेर फर्किरहेका बेला अचानक गोली चलेको थियो। बन्दुकधारी नजिकै रहेको थाहा पाएपछि आफूहरू अन्य मानिससँगै नजिकैको भवनतर्फ भागेर सियाटल बाल सङ्ग्रहालयमा आश्रय लिएको उनले बताए।
अर्का प्रत्यक्षदर्शी रोबर्टो रामिरेजले सुरुमा पटाका पड्किएको जस्तो आवाज सुने पनि केहीबेरमै मानिसहरूले ‘शूटर’ भन्दै चिच्याउँदै भाग्न थालेपछि स्थिति स्पष्ट भएको बताए। उनका अनुसार केही समयमै पूरा क्षेत्र खाली भएको थियो र मानिसहरू त्रसित बनेका थिए।
एस्टान वाकोनाबोले आफू प्रेमिकासँग फोटो बुथको लाइनमा रहेका बेला भीड एक्कासि भाग्न थालेको र त्यसपछि लगातार गोली चलेको आवाज सुनेको बताए। उनका अनुसार भागदौडका क्रममा मानिसहरू लडिरहेका, बालबालिकाका स्ट्रोलरसमेत पल्टिएका र घटनास्थलमा धेरै घाइते देखिएका थिए।
सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो। आयोजकका अनुसार यस कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार सहभागी हुने गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij