Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।
महानगरपालिकाका प्रमुख रेणु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताइन्। वैदेशिक रोजगारीमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उनको भनाइ थियो ।
विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताइन् । महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा रहेको सो अवसरमा जानकारी दिइयो । यस कार्यक्रमअन्तर्गत रु पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण ब्याज र रु २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत ब्याज महानगरले ब्यहोर्ने प्रमुख दाहालले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिए । अहिलेका समयमा वैदेशिक रोजगारीमा जानेका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण पाटो रहेको उनको भनाइ थियो । सुरक्षित आप्रवास परियोजनाअन्तर्गत जिल्लामा केन्द्रले चार स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij