
Aug 21 2025 | २०८२, भदौ ५ गते
ललितपुर । मार्च ८ अर्थात ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज ललितपुर महानगरपालिकाले साइकल र्याली गरेको छ । आज बिहान करिब आठ बजे जाउलाखेल चोकबाट सुरु भएको सो र्याली भनिमण्डल, झम्सिखेल चोक, बखुन्डोल, कुपन्डोल हुँदै पाटनमा गएर समापन गरिएको हो ।
करिब सय जना साइकलयात्रीहरु सहभागि र्यालीको समापन कार्यक्रममा महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उप–मेयर गीता सत्याल, सहायक प्रजिअ हरिप्रसाद पन्त, महिला अधिकृत महेश्वरी विष्टलगायतको उपस्थिति रहेको थियो ।
‘लैङ्गिक समानताः सामाजिक न्यायको सुनिश्चितता’ भन्ने स्थानीय नाराका साथ गरिएको सो कार्यक्रममा वर्षको अनुकरणीय महिलाको रुपमा ‘स्नेहा केयर सेन्टर’की अध्यक्ष स्नेहा श्रेष्ठलाई सम्मान गरिएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपमेयर सत्यालले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन महानगरपालिका सधै लागि पर्ने बताएकी छन् । सधैँ घरयासी काममा अल्झिनु पर्दा उनीहरुको क्षमता भइकन पनि आफूले चाहेको काम गर्न नसक्ने भएकाले महिला पछि परेको उनको भनाइ रहेको छ ।
यस्तै, महानगरपालिकाकी महिला अधिकृत विष्टले पनि महिला हिंसा हटाउन महिलालाई आत्मिनिर्भर बनाउन आवश्यक रहेको बताएकी छन् । अधिकाशं घरेलु हिंसा महिला पुरुषमा निर्भर भएको कारणले हुने बताउँदै यसलाई रोक्न आफूहरुले विभिन्न उत्पादन तथा रोजगारीमूलक कार्यहरु गर्न महिलालाई प्रेरित गरेको बताएकी छन् । महिला सक्षमताको लागि पुरुषले पनि उत्तिकै साथ दिन सके परिवार राम्राे बन्नुका साथै स्वच्छ समाज निर्माण हुने उनको भनाइ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij