Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । २१ लाख बढी अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही ठाउँका २६ वर्षीय राकेश कुमार बर्मालाई पक्राउ गरेको छ ।
बिहीवार राति कपिलवस्तु नगरपालिका-२ जमुवारपुल स्थित भैरहवा-तौलिहवा हुलाकी सडकखण्डमा भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ५५ एएम ०४५९ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जनाएका छन् ।
उनीहरुको साथबाट प्रहरीले ५ सय दरको नोट ४ हजार २०७ थान र एक सय दरको नोट ३६ थान गरी जम्मा २१ लाख ७ हजार एकसय भारतीय रुपैयाँ बरामद गरेको छ । आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि उनीहरुलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij