Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् । रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत श्रमिकलाई फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । श्रमिकहरूबाट रकम लिएर यो म्यानपावरले लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।
आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि श्रमिकहरूले विभागमा उजुरी गरेका थिए । विभागले म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको जनाएको छ । यस्तै वैदेशिक रोजगारीमा श्रमिक पठाउन युरो एसिया एचआर सोलुसन प्रालिले बढी रकम लिएको पाइएपछि लिएको बढी रकम श्रमिकलाई नै फिर्ता गराई विभागले एक लाख रुपैयाँ जरिबाना गराएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीका अनुसार भिसा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च लगायतका नाममा लाग्ने भन्दा बढी रकम लिएको भन्दै म्यानपावरलाई आउँदा दिनमा यस्तो कार्य नदोहोर्याउन निर्देशनसहित एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij