Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहने जानकारी दिए ।
२०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो ।
संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ ।
‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं’, पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य ढकालले भने– यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषय चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij