
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भएर मित्रनगर बस्ने वीरबल घर्तीमगर छन् ।२१ वर्षीय घर्तीमगरलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
३ जना पीडितबाट उनले १६ लाख ६२ हजार रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए । काठमाडौँमा बस्ने एक जना युवकलाई विदेशी नागरिक क्याथरिन सिन्डेभेराले फेसबुकमा साथि बन्न अनुरोध गर्छन् । उनीहरूबिच मेसेन्जरमा कुरा गर्दा क्याथरिनले भन्छन्–‘म अमेरिकन आर्मी हुँ, सिरिया मिसनमा खटिएको छु ।’
सिरियाको मिसनमा आतङ्ककारीहरूले लुकाई राखेको १ दशमलव ७ मिलियन डलर फेला पारेर ल्याएको र सो रकम अमेरिका लैजान नमिल्ने भन्दै क्याथरिनले सो रकम नेपाल पठाउने आश्वासन दिए । पीडितले अनुरोध स्वीकारेपछि क्याथरिनले भने– ‘पछि म नेपालमा आएर विद्यालय र अस्पताल सञ्चालन गर्नुपर्छ तपाईंको नाममा सो डलर पठाइदिन्छु तपाईंले ३० प्रतिशत चलाउनु बाँकी रहेको रकम सुरक्षित साथ राख्नुहोला ।’
पीडितले भन्सार शुल्क बापत रकम पठाए तर, सामान नपाएपछि उनी प्रहरीकहाँ गएका हुन् । टिकटक र इन्स्टाग्राममार्फत कुरा गरेर आरोपीले थप दुई जनाबाट पनि रकम ठगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij