Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । राष्ट्र ब्यांक सञ्चालक समितिको सदस्य हुँदा कर्णले एक व्यावसायिक घराना सम्बद्ध व्यक्तिसँग घूस मागेको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। यसै सन्दर्भमा बुझ्नुपर्ने भएकाले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।
अख्तियारले बुधबार सार्वजनिक सूचना जारी गरी कर्णलाई उपस्थित हुन भनेको छ । यसका लागि अख्तियारले ३० दिनको समय दिएको छ । यसअघि पनि अख्तियारले कर्णलाई बोलाएको थियो । उनी सम्पर्कमा नआएपछि अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो ।
कर्णले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग ३० हजार डलर घूस मागेको सूचना हिमालखबरले २०७८ चैतमा सार्वजनिक गरेको थियो । चौधरी समूहको लगानीको नबिल ब्यांक र नेपाल बाङ्लादेश ब्यांकबीच मर्जरका क्रममा कर छूट एवं सीजी सिमेन्टको शेयर लेखांकनको प्रस्तावलाई सजिलो पारिदिने भन्दै कर्णले चौधरीसँग बार्गेनिङ गरेका थिए ।
पदीय मर्यादा र कानून विपरीत घूस मागेको प्रस्ट भए पनि कर्ण निलम्बनमा भने परेनन् । यद्यपि घटना सार्वजनिक भएपछि उनलाई राष्ट्र ब्यांकले सञ्चालक समितिको बैठकमा बोलाएन । कर्णको २०८० वैशाखमा राष्ट्र ब्यांकको सञ्चालक समिति सदस्यको पदावधि सकिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ वैशाख ११ मा चार्टर्ड एकाउन्टेन्ट कर्णलाई पाँच वर्षका लागि केन्द्रीय ब्यांकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो। कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष तथा साउथएशिएन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)का पूर्व अध्यक्ष पनि हुन् । उनी यूएचवाई सुबोध एशोसिएट्स कम्पनीका सञ्चालक हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij