Jun 04 2026 | २०८३, जेठ २१ गते
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ ।
उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ । “शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन् ।” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।
सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ । यसै बीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्याङ्कन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।
महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल गरिएको छ । यसैबीच, पश्चिम डार्फरमा शनिबार घटना चलिरहेका समय स्थानीय अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन् । पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij