Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । बागलुङको गलकोट नगरपालिकाका दुई जिल्ला जोड्ने गरी १९ वर्षअघि ट्र्याक खुलेको सडक कालोपत्र गरिएको छ। गलकोट नगरपालिका-३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो।
पाँच वर्ष अघि स्तरोन्नतिसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यो वर्ष बल्ल काम गरेको छ। यो वर्ष सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए।
इन्जिनियर पुनका अनुसार २०७६ मा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने थियो तर यो वर्ष कालोपत्र गरेको छ। निर्माण कम्पनीले यो वर्ष ९० प्रतिशत काम सक्ने अनुमान गरे पनि लक्ष्यमा पुग्न सकेको छैन। हटिया बजारबाट ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानसम्म मात्रै काम गरेको पुनको भनाइ छ । कम्पनीले २८ करोड रुपैयाँमा उक्त सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij