
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआईआईटी)मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै, त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुने उनीहरुको जोड छ ।
राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक समयमा उनीहरुले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआईआईटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरे ।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली काङ्ग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij