
May 12 2025 | २०८२, वैशाख २९ गते
जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो ।
काठमाडौं। महोत्तरीमा पानीको हाहाकार बढेको छ । जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो । खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन् ।
खोल्साखोल्सी र नदीको पानी संग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ ।पानीको संकटले सर्वसाधारण हैरान छन् । बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले संग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन् । यहाँका चार वडामा इनार बढी प्रयोगमा छन् ।
अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन् । पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन् ।
नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउछन् । पछिल्ला चार-पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिडडुल निकै पातलिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij