
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ, ४ असार सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था बाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सहितको टोलीले मङ्गलबार प्रधानमन्त्री लाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् ।
भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनु भएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनु भएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले संवाद बाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालय सँग बुझ्ने र मिल्ने सम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउनु भएको उहाँले जानकारी दिनुभयो ।
व्यवसायीले विलासिता कर लागु गर्दा सुनचाँदी व्यवसाय धराशायी हुने भएकाले पुनर्विचार गर्न माग गरेका हुन्। विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पनि खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन् ।
मागका विषयमा प्रधानमन्त्रीको सकारात्मक आश्वासन आएपछि व्यवसायीले बुधबार देखि सुनचाँदी पसल खुला गर्ने बताएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक हप्ता अघिदेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij