
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । जिल्लाका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।
सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२८३ का लागि छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् ।
जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ ।
यस्तै, चौदण्डीगढी नगरपालिकाले एक अर्ब १३ करोड ३५ लाख ४१ हजार बराबरको बजेट ल्याएको जनाइएको छ । कटारी नगरपालिकाले रु ८७ करोड ६५ लाख तीन हजार ४०० बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।
चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले रु ६८ करोड ४० लाख पाँच हजार बराबरको बजेट ल्याएको छ भने रौतामाई गाउँपालिकाले रु ६६ करोड ९९ लाख ६१ हजारको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
यस्तै लिम्चुङबुङ गाउँपालिकाले रु ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याएको छ भने ताप्ली गाउँपालिकाले ४१ करोड ७३ लाख ५५ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।
कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताए ।
जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिनेगरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij