
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्रि सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको ज्यान गएको छ ।
कायाकल्प एकेडेमीको ग१ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए । फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा हुन् ।
घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो । तर, चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले बताए ।
दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । प्रहरीले बस चालक बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij