Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । दशैंको मुखमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएपछि ज्येष्ठ नागरिकहरू मर्कामा परेका छन् ।
परिचयपत्र नवीकरण नभएको भन्दै बैंकहरूले रकम भुक्तानी गर्न अस्वीकार गरेपछि चाडपर्वको मुखमा वृद्धवृद्धाहरू अप्ठेरोमा परेका हुन् । सरकारले सामाजिक सुरक्षा कोषअन्तर्गत मासिक चार हजार रुपैयाँका दरले हरेक तीन महिनामा भत्ता वितरण गर्दै आएको छ ।
त्यसका लागि भदौ मसान्तभित्र परिचयपत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ । तर, भदौ २३ को जेनजी प्रदर्शन र भोलिपल्ट भएको विध्वंशका कारण अधिकांश वडा कार्यालय बन्द हुँदा परिचयपत्र नवीकरण प्रभावित भयो ।
बैंकहरूले नवीकरण ढिला भएको कारण देखाएर रित्तो हात फर्काएपछि भत्ता प्राप्तकर्ताहरू यतिबेला सरोकारवाला निकाय गुहारिरहेका छन् । केही जेष्ठ नागरिकले निवेदन बुझाउँदै बैंकलाई तत्काल भुक्तानीका लागि निर्देशन दिन ध्यानाकर्षण गराएका छन् ।
आफूहरुको लापरवाहीको कारण नभएर देशव्यापी आन्दोलन र कार्यालय बन्दले निर्धारित समयमा परिचयपत्र नवीकरण गराउन नसकेको उल्लेख गर्दै यसलाई गम्भिरतापूर्वक लिन निवेदनमा आग्रह गरिएको छ । भत्ताको विषयमा छिट्टै निर्णय नभए आफूहरु गम्भीर समस्यामा पर्ने गुनासो उनीहरुले गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij