Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार थप एक जनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बुने ५३ वर्षीय हेमराज बडाल छन् । उनलाई सिआइबीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको हो ।
उनीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि भेटका अध्यक्ष सुना सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।उनीहरूले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र कीर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरिएको पाइएको थियो ।
पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कान्तिपुर भेट डिस्ट्रिब्युटर्सलाई पशु फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन बाइन्डर आयात गर्न दिइएको अनुमति सिफारिस कीर्ते गरेको आरोप छ ।
यसरी नेपालमा दर्ता नभएका फ्लोक्यर, फ्लोरुटिन, बाइनोडक्स, लिभोफ्लोक्स बिएच, पाइपेराजाइन लगायतका औषधिहरू विवरण उल्लेख गरी विभिन्न भन्सार कार्यालयमा पेस गरी आयात गरेको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij