Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा राजनीतिक माहोल बनाउन ‘हिन्दु कार्ड’ खेल्न थालेको भन्दै एक भारतीय अखबारले बिहीबार सम्पादकीय नै लेखेको छ । नेपालका सम्बन्धमा निकै कम ‘स्पेश’ दिने भारतीय अखबारमा नेपाली राजनीतिक अवस्थालाई केलाएर सम्पादकीय लेखेका उदाहरण निकै कम पाइन्छ ।
केपी शर्मा ओलीको यो कदमपछि सत्तारुढ दल दुई धारमा विभाजित भएको र पार्टीको आधिकारिकतासम्बन्धी विवाद पनि बढेको जिकिर गर्दै सम्पादकीयमा लेखिएको छ, ‘नेकपाको एउटा पक्षले ओलीलाई पार्टीबाटै निष्काशन गरेको छ ।’ अवसरमा ओलीले मन्दिरमा लगाउनका लागि १०८ किलो सुन खरिद गर्न ३० करोड रुपैयाँ दिने घोषणासमेत गरेको भन्दै सो अखबारले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘उनले संसद भङ्ग गरेपछिको जनआक्रोस कम गर्ने प्रयासस्वरुप यसो गरेको मानिएको छ ।’
सम्पादकीयमा अगाडि लेखिएको छ, ‘ओलीको यो कदमलाई संविधानमाथिकै हमला भनिएको छ, किनकि नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको दर्जा दिएको छ ।’राजनीतिक विश्लेषकहरुको भनाइका आधारमा सम्पादकीयमा निष्कर्ष निकालिएको छ– ओलीको ‘मन्दिरयात्रा’ पछाडि उनको राजनीतिक एजेण्डा लुकेको छ र यसो गरेर उनी धर्मनिरपेक्षताको लेबलबाट मुक्त हुन चाहन्छन् ।सम्पादकीयमा लेखिएको छ, ‘केपी शर्मा ओलीको विचारधारामा अचानक हिन्दु रीति–रिवाजप्रति यो झुकाव यस्तो समयमा आएको छ कि देशलाई हिन्दु राष्ट्रका रुपमा सन् २००८ भन्दा पहिलाकै अवस्थामा फर्काउन माग गर्दै प्रदर्शनहरु भइरहेको छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij