Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३२ लाख बढीको कारोबार भएको छ ।
तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबारमात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
मेलामा विशेष गरि गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए । वर्षेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबिच थप समन्बन्ध विस्तार भई फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।
आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजूद पनि अवलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको भनाइ छ ।
मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माइ नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका छन् । त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माइ नर्शरी, बेष्ट स्पाइडरमा सम्झना नर्शरी, बेष्ट इन्कर्भमा आजिमा नर्शरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्शरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्शरी र बेष्ट स्टलमा दिक्षा नर्शरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।
नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले विस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको फ्यानको जनाएको छ । पुष्प खेती भईरहेको जिल्ला संख्या ५२ रहेको छ भने २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।
पुष्प क्षेत्रमा एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको अवस्था छ भने पुष्प व्यवसायमा अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढी रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ५३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार रहेको छ । पुष्पको वार्षिक कारोबार रु ३ अर्ब ३७ करोड रहेको फ्यानले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार आ.व. ०८०÷८१ मा रु.१ करोड ०२ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक बर्ष ०८१÷८२ मा १०९.१६% ले बृद्धि भई रु.२ करोड १३ लाख ६० हजार करोबार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आ.व. ०८०÷८१ को तुलनामा आर्थिक बर्ष ०८१-८२ मा ५४.२७% ले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात कारोबार रु.१२ करोड ७० लाख ८९ हजार रहेको छ। अघिल्लो आ.व.मा रु.२७ करोड ७९ लाख ०५ हजार आयात कारोबार रहेको थियो । पुष्प तथा पुष्पजन्य वस्तुको बजार मागमा हरेक बर्ष १० देखि १५ प्रतिशतको दरले थपिने गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij