Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कुलमानले गरे सिँचाइका १२ रुग्ण ठेक्काको अन्त्य

कुलमानले गरे सिँचाइका १२ रुग्ण ठेक्काको अन्त्य

  • काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का अन्त्य गरिएको छ । साबिकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ । विभागका अनुसार  बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का अन्त्य गर्न गत ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोहीबमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ । 

    AGNI GROUP

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौताबमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ । कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत काम गर्न  ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ ।

    साथै, सार्वजनिक खरिद कानुनको व्यवस्थाबमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवं बाँकी कामको मूल्यांकन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/७५ मा गरिएका थिए ।

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङटार, इलाम, हेटौँडा र नेपालगञ्जले आइतबार आफूमातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

    तुम्लिङटारले १७, इलामले १२, हेटौँडाले सात र नेपालगञ्जले चार ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का अन्त्य प्रक्रिया अगाडि बढाइसकेका छन् ।

    सहरी विकासमन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का अन्त्य मातहतका निकायलाई निर्देशन दिएका थिए । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लंघन गरेको उल्लेख गरिएको छ ।

    विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण सम्पन्नतर्फ चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का अन्त्य गर्न कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

    उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij