Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरबारमा सम्मानित भएका छन् ।
नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन् । सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् ।
‘नेपालीका लागि तपाईँ एउटा गौरव हो’,उनले भनिन्, ‘बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको छु ।’
उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की, सुरेश सेढाँई लगायतका अधिकारीहरूको उपस्थिति थियो । मेयर मगरले जनप्रतिनिधिका रूपमा आफूले गरिरहेको कामबारे अनुभव साटासाट गरेका थिए ।
पाल्पाको चिदिपानी चन्द्रवन ९हाल० माथागढी गाउँपालिका–१ मा जन्मनु भएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भए ।
झन्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत छन् । रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत्त भएका थिए ।
बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइ रहेका सारु सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij