Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातका कारण मधेस र वागमती प्रदेशमा बिहीबारदेखि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।
पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बिहीबार साँझदेखि पर्सा, बारा, रौतहट, सर्लाहीसहित वागमतीमा ‘धेरै वर्षा’को सम्भावना रहेको बताएका छन् ।
गण्डकीमा समेत मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताएका छन् । पर्सिदेखि सुनसरीसम्मको तराई क्षेत्र र ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात देखिएको मंगलबार सामाजिक सञ्जालमार्फत उनले जनाएका छन् ।
उनले रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा नगर्न सुझाएका छन्। ‘बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म माथि उल्लेखित जिल्लासहित इलाम–धनकुटा–सङ्खुवासभा–सोलुखुम्बु–तेह्रथुम–पाँचथर–खोटाङ–झापा उच्च जोखिममा देखिन्छन्,’ उनले भने ।
उपाध्यायले बिहीबार मध्याह्नदेखि शुक्रबार मध्याह्नसम्म बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौँडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्न सुझाएका छन् ।
शनिबारदेखि पुनः मौसम घमाइलो र रमाइलो हुने भएकाले यो अवधिमा होस गर्न र सुरक्षित रहन उनले आग्रह गरेका छन् ।
उनका अनुसार, पश्चिममा अरबसागर र पूर्वमा अण्डमानसागर दुवैतर्फ समुद्री आँधी सक्रिय छ । अरबसागरतर्फको चक्रवातले आज कर्णाली, गण्डकीको धेरै क्षेत्रमा भारी वर्षा र हिमपात भइरहेको छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत अन्य हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
‘काठमाडौंलगायत तराई र पूर्वी क्षेत्रमा पनि यसको प्रभाव कायम । तर, आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने। काठमाडौं लगायतका धेरै भूभागमा भोलि बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने । बिहीबार बिहान पनि मौसम खुलै रहने,’ उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij