Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिट गरेको भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म बजार व्यवसाय बन्द गरी विरोध जनाएका हुन् ।
संघको अगुवाइमा व्यापारीहरूले नगरमा विरोध र्याली समेत निकालेका थिए । यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत व्यापारीहरूले तीन दिनसम्म आफ्नो व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर र कालोपट्टि बाँधेर विरोध जनाएका थिए ।
धनतेरसको अघिल्लो दिन प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सुनचाँदी बजार क्षेत्रमा छापा मारेको थियो । सो क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए ।
व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका छन् । प्रहरी र व्यापारीबिच विवाद बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए ।
घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij