Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।
सौराहास्थित सभा हलमा बिहान ८ बजेदेखि शुरु हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।
२१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने नेताहरुले बताएका छन् । त्यसैले पनि यस बैठकलाई राजनीतिक वृतमा निकै महत्वका साथ हेरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहाकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधीसभा निर्वाचन क्षेत्रिय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाका बारेमा धारणा राख्ने बताइएको छ ।
रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन गरिएको छ भने, आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ । दुई दिनको खाना र खाजा पार्टीले नै व्यवस्थापन गर्ने बताइएको छ । विस्तारित बैठकका लागि हरेक प्रतिनिधिबाट १०५० उठाइएको छ, जुन रकम खान र खाजामा खर्च गरिने बताइएको छ ।
प्रतिनिधिहरूलाई आवासको लागि सौराहाको होटलमा साधारण कोठाको एक हजार मध्यम कोठाको २ हजार र सुविधा भएको कोठाको तीन हजार रकम दिने सहमति भएको जानकारी दिइएको छ । विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति गठन गरिएको छ भने विभिन्न ७ उपसमिति गठन गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij