Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अजरबैजानमा एक मिसन सकेर फर्किरहेको टर्कीको एक सैन्य कार्गो विमान मंगलबार जर्जिया र अजरबैजानको सीमा नजिकै दुर्घटनाग्रस्त भएको छ । टर्कीको रक्षा मन्त्रालयले विमानमा सवार सबै २० जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ ।
टर्कीका अधिकारीहरूले उद्धार कार्यपछि विमानमा सवार सबै २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्, जसमा कोही पनि जीवित व्यक्ति फेला परेनन् । जर्जियाको एयर ट्राफिक कन्ट्रोल सेवा ‘साकाएरोनाभिगेत्सिया’ का अनुसार सी–१३० हरक्यूलिस विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडारबाट हराएको थियो । विमान जर्जियाको सिघ्नाघी क्षेत्रमा, अजरबैजानसँगको सीमाबाट करिब पाँच किलोमिटर टाढा खसेको थियो ।
टर्कीको रक्षा मन्त्रालयले भन्यो– ‘अजरबैजानबाट घर फर्किरहेको हाम्रो सी–१३० सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमामा दुर्घटनाग्रस्त भएको छ ।’ मन्त्रालयले विमानमा सवार सबै २० जना कर्मचारी उडान दलका सदस्यहरू रहेको पुष्टि गरेको छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले ‘सहिदहरूका लागि’ आफ्नो समवेदना व्यक्त गर्दै टर्कीले जर्जियाली अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको राज्य समाचार एजेन्सी अनाडोलुले जनाएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले पनि सामाजिक सञ्जाल एक्समार्फत टर्कीको नेतृत्वप्रति समवेदना व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदानले पनि खोजी र उद्धार प्रयासका सम्बन्धमा आफ्ना जर्जियाली समकक्षी माका बोचोरिश्भिलीसँग समन्वय गरेका छन् ।
अजरबैजानको मिडियामा प्रसारित फुटेजहरूमा विमान जमिनमा खस्नुअघि अनियन्त्रित रूपमा घुमेको र त्यसपछि ठुलो विस्फोट भई कालो धुवाँको मुस्लो देखिएको देखाइएको थियो । दुर्घटनास्थलका थप फुटेजहरूमा एउटा खेतमा जलेको भग्नावशेष देखाइएको छ । टर्कीको रक्षा मन्त्रालयले सञ्चारमाध्यमहरूलाई दुर्घटनाका दृश्यहरू प्रकाशन नगर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij