Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको छ । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उनीहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारासहितका प्लेकार्ड लिएर सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहभागिता जनाउदै सानो कदमले पनि समावेशी भविष्यका ठूलो मार्ग खोल्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए।
यस बर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा 'सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने' भन्ने रहेको छ । यस विषयवस्तुको अर्थ समाजलाई न्यायपूर्ण बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सम्मान गर्न हामी सबै मिलेर काम गर्नु आवश्यक रहेको छ भन्ने हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij