Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो ।
टिममा भारतका टेस्ट कप्तान शुभमन गिललाई शसर्त समावेश गरिएको छ । टेस्ट खेलका क्रममा घाइते गिललाई फिटनेस रिपोर्टको आधारमा टिममा सामेल गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । त्यस्तै भारतीय टिममा एसिया कप फाइनल अघि घाइते भएका हार्दिक पाण्ड्याले पुनरागमन गरेका छन् ।
टी-२० सिरिज डिसेम्बर ९ बाट सुरु हुने छ भने पहिलो खेल कटकमा खेलिनेछ । त्यस्तै दोस्रो खेल डिसेम्बर ११ मा नयाँ चण्डीगढमा, तेस्रो खेल डिसेम्बर १४ मा धर्मशालामा, चौथो खेल डिसेम्बर १७ मा लखनउमा र पाँचौं खेल डिसेम्बर १९ मा अहमदाबादमा खेलिने तालिका रहेको छ ।
२०२६ को टी-२० विश्वकपको तयारीका लागि यो सिरिज भारतको लागि महत्त्वपूर्ण छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता फेब्रुअरी ७ मा सुरु हुनेछ ।
दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजका लागि भारतको टोली : सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेट), सञ्जु सैमसन (विकेट), जसप्रित बुमराह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना र वाशिंटन सुन्दर ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij