Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कलाक्षेत्रमा ८ जना स्रष्टाहरू सम्मानित भएका छन् ।
जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका ती सम्मानहरूको सङ्ख्या धेरै भएको हुँदा यसवर्ष विभिन्न प्रतिभाहरूलाई दुई पटक गरी मङ्सिर २७ गते र पछि चैत्र २८ गते प्रदान गरिने कुरा अध्यक्ष मोहन दुवालले कार्यक्रममा जानकारी दिलाएका थिए ।
आ-आफ्नो विधामा लामो समयदेखि निरन्तर रुपमा संलग्नरही योगदान पुर्याउँदै आइरहनुभएका स्रष्टाहरुलाई यो सम्मान प्रदान गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिए ।
विभिन्न विधामा सम्मानित हुनुहुने स्रष्टाहरू नियात्राकार लेखक निर्मोही व्यासलाई २०८१ सालको ‘दीपा-जनमत सम्मान’ अर्पण गरिएको थियो। त्यसैगरी ‘जनमत-महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश, गणेश-खिलकुमारी दुवाल-जनमत सम्मान’ श्याम तमोट, ‘केवलपुरे-जनमत सम्मान’ खेमराज निरौला, ‘कमला सैंजू-जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ, ‘जनमत-राजभाई सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य, ‘भारती-जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल र जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारीलाई अर्पण गरिएको थियो ।
सो समारोहमा सम्बन्धित विधाका अग्रजहरुले सम्मानित स्रष्टाहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । यसरी सम्मान प्रदान गर्नेहरुमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दर, उपसभामुख इन्दिरा राना मगर, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान, इन्दिरा श्रेष्ठ थिए ।
दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तद्वारा आठै जना सम्मानित स्रष्टाहरूको परिचय दिइएको थियो । कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसँगै स्वागतगान बजाएर सबैको स्वागत गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij