Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो । घिमिरेले रिटमाथि कारण देखाऊ आदेश जारी भएको जानकारी दिए ।
अर्का रिट निवेदक खम्बबहादुर खातीले पुस १६ गतेका लागि पेसी तोकिएको जानकारी दिए । उनले यससँग सम्बन्धित अन्य रिटलाई पनि सँगै सुनुवाइ गर्न लागिएको बताए ।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।
कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग पनि गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनसमेत माग गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij