Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।
हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।
डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताए । ‘अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ’, उनले भने, ‘मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्यानो लुगा छ, न त राम्रो ओछ्यान नै ।’
झुपडीमा बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखेका छन् । शिविरमा बस्ने सबै परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । मजदुरीबाट आएको न्यून रकमले साँझ-बिहानको छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताए।
दातृ निकायलाई न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग नपाउँदा आगो तापेर चिसो कटाउनुपरेको उनले उल्लेख गरे ।
शिविरका राजकुमार राना भन्छन्, ‘गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुनु पर्दैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा केवल नारामा मात्र सीमित भएको छ ।’ बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि वन छेउको शिविरमा कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै पनि निकायले सोधखोज नगरेको उनको गुनासो छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij