Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ ।
नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए ।
“जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्याैं, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पुर्याइएको छ”, नगरप्रमुख साहले भने, “यसले यो शीतलहरमा जीउ तताउन थोरै राहत दिनेछ ।”
बस्तीबस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिए ।
दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उनको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उहाँले विभिन्न सामाजिक सङ्घसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij