Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश देवकोटाले राजिनामा दिएका छन् । उनले पुष ९ गते दिएको राजिनामा बैंक संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
गत वर्ष कार्यकारी प्रमुख नियुक्त भएका देवकोटाको कार्यकाल करिब ३ वर्ष बाँकी रहँदा नै उनले पदबाट राजीनामा दिएका हुन्। वरिष्ठ चार्टर्ड एकाउन्टेन्टसमेत रहेका देवकोटाले निक्कै कठिन अवस्थामा रहेको सिन्धु विकास बैकलाई सम्हालेपछि उनको कार्यकालमा सिन्धु विकास बैकले मुख्यतः खराब कर्जाको असुलीमा निक्कै ठुलो प्रगति गरेको थियो ।
बैंकको प्रति सेयर नेटवर्थमा व्यापक सुधार भएको छ भने पूँजीकोष अनुपातमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । मुख्यतः निक्षेपकर्ताहरुको हितलाई सर्वोपरि राखेर बैंकको साख वृद्धिमा केन्द्रित भएको तथा जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिएको बताउँदै देवकोटाले सिन्धु विकास बैंक अहिले मजबुत अवस्थामा रहेको उल्लेख गरेका छन् ।
विगत २० वर्ष भन्दा बढि समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत देवकोटाले नेपाल बैंक लिमिटेडबाट आफ्नो करियर सुरुवात गरी लामो समय तत्कालीन नेपाल बंगलादेश बैंक हुँदै नबिल बैकको प्रमुख लगानी अधिकृतको रुपमा काम गरेका थिए । उनी नबिल स्टक डिलरको संस्थापक प्रमुख कार्यकारी अधिकृत पनि रहेका थिए ।
देवकोटाले मुख्यतः नेपाल राष्ट्र बैंकले समयमै आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण स्वीकृति दिँदा पनि यसवर्षको वार्षिक साधारण सभा बैक संचालकहरुको आन्तरिक कारणले गर्दा पुष मसान्त भित्र हुन नसकेको नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएको बुझिएको छ । सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रिय स्तरको विकास बैक हो । बैकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij