Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पछिल्लो समय विद्युत सर्टको जोखिम बढ्दै गएको छ । मुलुकका विभिन्न जिल्लामा विद्युत सर्टपछि भएका आगलागीमा लाखौंको धनमाल जलेर क्षति हुँदै आएको छ ।
देशका सल्यान, प्युठान, उदयपुर र दार्चुलालगायतका जिल्लामा विद्युत सर्टपछि आगलागी हुँदा लाखौं रुपैयाँका क्षति भएको प्रहरीले जनाएको छ ।
सल्यानको दार्मा गाउँपालिकास्थित मपाखाका मोहन खड्काको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै प्युठानको सरूमारानीका जिवा सुनारको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उदयपुरको उदयपुरगढी आम्बोटेका हेमराज तामाङको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ७ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल जलेको छ । यस्तै उदयपुरकै बेलका-७ रूस्तेनका पवन राईको भान्सा घरमा बुधबार साँझ आगलागी हुँदा करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेको छ ।
प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij