Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ।
चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो।
मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए ।
डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
प्रहरीले वन रक्षक महतोको हत्या आशंकामा गाउँकै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन् ।
शनिबार बिहान ५ बजेतिर जङ्गलमा रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए। दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन समेत ’स्वीच अफ’ भएपछि परिवार र छरछिमेकीले खोजी गर्ने क्रममा उनको विभत्स शव भेटिएको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र टाउको काटिएको अवस्थामा शव फेला परेको उनको भनाइ छ ।
घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाइएको छ ।
वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।यस घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij