Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मंगलबारदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो ।
अन्डाको मूल्य घटेसँगै चर्को मूल्यमा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत हुने भएको छ । गएको मंसिरमा उच्च भएको अन्डाको मूल्य एक महिनापछि घटाइएको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ निर्धारित मूल्य अनुसार अब मध्यम ९मिडियम० अन्डाको किसानले पाउने मूल्य प्रतिक्रेट ४ सय ६० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५ सय ५० रुपैयाँ रहेको थियो ।
त्यसैगरी ठूलो ९लार्ज० अन्डाको मूल्य ५ सय ६५ रुपैयाँबाट घटाएर ४ सय ७५ रुपैयाँ तोकिएको छ । अन्डाको मूल्यमा गिरावट आउनुमा उत्पादनमा भएको वृद्धि र खपतमा आएको कमी मुख्य कारण रहेको अध्यक्ष विनोद पोखरेलले बताए ।
उनका अनुसार पछिल्लो समय चिसो मौसमका कारण विद्यालय तथा कलेजहरू बिदा हुन थालेपछि अन्डाको नियमित खपत घटेको छ । पर्यटकीय सिजन नभएकाले होटल तथा रेस्टुरेन्टहरूबाट हुने मागमा समेत गिरावट आएको छ ।
‘अहिले बजारमा बुढो भइसकेका लेयर्स कुखुराको बिक्री निकै कम छ,’ उनले भने, ‘अन्डा उत्पादन कम भएपछि विस्थापित गर्नुपर्ने त्यस्ता कुखुराहरू नबिकेर फार्ममै रहँदा अन्डा उत्पादन बढेको छ, तर सोही अनुपातमा बजारमा खपत हुन सकेको छैन ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij