Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

  • काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ।

    onlinepatrika
    Arghakhachi

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ। जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ।  

    AGNI GROUP

    विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ।

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन्। विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ।  

    सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह र पानी निकास नहर निर्माण गरिनेछ। आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भू-भाग डुबानमा पर्नेछ। आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ।

    आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ ।  सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ। प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ।  

    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ।  

    मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ। सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो।  

    आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ। अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो। सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij