Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड’मार्फत विशेष सम्मान गरिएको छ ।
कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत डा तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताइन् ।
उनले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij