Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतको गाजियाबादका हरिश राणाको आज नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा निधन भएको छ।
उनी विगत १३ वर्षदेखि कोमामा थिए। केही दिनअघि भारतको सर्वोच्च अदालतले उनलाई इच्छामृत्युको अनुमति दिएको थियो।
हरिश राणा एम्सको इन्स्टिच्युट रोटरी क्यान्सर अस्पताल (आईआरसीएच)मा भर्ना थिए। उनलाई प्यालिएटिभ केयर कक्षमा राखिएको थियो।
अस्पतालमा एक सातादेखि उनको गहन निगरानी भइरहेको थियो। मार्च २३ मा चिकित्सकहरूले उनलाई केही दिन अझै निगरानीमा राख्न सकिने बताएका थिए।
उनी पछिल्लो एक सातादेखि खाना र पानी बिना जीवित थिए । इच्छामृत्यु प्रक्रियाअन्तर्गत यो क्रम छ दिनदेखि जारी थियो । यस अवधिमा उनका आमाबुवा कुनै चमत्कार हुने आशामा थिए।
निधनअघि आमाको प्रार्थना
हरिशकी आमा अस्पतालमा बसेर हनुमान चालीसा पाठ गरिरहेकी थिइन् । छोराको निधनअघि उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा सास लिइरहेको छ, उसको मुटुको धड्कन अझै चलिरहेको छ ।’ उनले छोराले आफूलाई छोडेर जान लागेको पनि बताएकी थिइन्।
इच्छामृत्यु प्रक्रिया
सर्वोच्च अदालतबाट अनुमति पाएपछि इच्छामृत्यु प्रक्रिया सुरु गरिएको थियो। १३ वर्षदेखि कोमामा रहेका हरिशको अवस्थामाथि चिकित्सकहरूको विशेष टोलीले निरन्तर निगरानी गरिरहेको थियो। एक सातासम्म खाना र पानी बिना राखेपछि उनको निधन भएको हो। यो अत्यन्त जटिल र संवेदनशील मामला मानिएको छ।
के थियो घटना ?
जुलाई २०१० मा हरिशले चण्डीगढ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन सुरु गरेका थिए । सन् २०१३ मा उनी अन्तिम वर्षका विद्यार्थी थिए । अगस्ट २०१३ मा रक्षाबन्धनको दिन बहिनीसँग मोबाइलमा कुरा गर्दै गर्दा उनी पेइङ गेस्टको चौथो तलाबाट खसेका थिए।
गम्भीर घाइते भएका उनलाई तत्काल पोस्टग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डीगढमा भर्ना गरिएको थियो । पछि डिसेम्बर २०१३ मा उनलाई नयाँ दिल्लीको लोकनायक जयप्रकाश नारायण अस्पतालमा सारियो, जहाँ चिकित्सकहरूले उनलाई क्वाड्रिप्लेजिया भएको बताए । यस अवस्थाले उनका हातखुट्टा पूर्ण रूपमा निष्क्रिय भए र उनी जीवनभर शय्याग्रस्त बने।
असह्य पीडा र शारीरिक असक्षमतालाई ध्यानमा राख्दै उनका आमाबुवाले दिल्ली उच्च अदालतमा इच्छामृत्युको माग गरेका थिए । जुलाई ८, २०२५ मा उच्च अदालतले उक्त माग अस्वीकार गरेको थियो । त्यसपछि परिवारले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।
करिब आठ महिनापछि मार्च ११, २०२६ मा सर्वोच्च अदालतले हरिश राणालाई इच्छामृत्युको अनुमति दिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij