Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङ बीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल-चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो।
उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले ‘एक-चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्धता जनाएको बताइन्। साथै, नेपालको भूमिबाट चीनको हित विपरीत कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि दोहोर्याइन्।
सिजाङसँगको सहकार्यबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरिन्। हाल सिजाङ र नेपालबीचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै सन् २०२५ को पहिलो ६ महिनामा २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको बताइन्।
उनले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समिति (NXTEC) को १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भएको तथा १४औँ बैठक यसै वर्ष काठमाडौंमा आयोजना गर्ने तयारी रहेको जानकारी पनि गराइन्। धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना भएकोप्रति समेत उनले खुसी व्यक्त गरिन्।
अन्तरसंसदीय सहकार्यका विषयमा उपाध्यक्ष भण्डारीले प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सन् २०२२ मा भएको समझदारीपत्रलाई महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै आगामी दिनमा संघीय संसदमा नेपाल-चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको जानकारी दिइन्।
भेटका क्रममा उपाध्यक्ष भण्डारीले आगामी जुन ११ देखि १६, २०२६ सम्म चीनको कुनमिङ मा आयोजना हुने १०औँ चीन-दक्षिण एसिया प्रदर्शनी (CSA Expo) मा सहभागिताको निमन्त्रणा पाएकोमा धन्यवाद व्यक्त गर्दै त्यसबारे कूटनीतिक माध्यमबाट आवश्यक पत्राचार गरिने बताइन्।
उनले सिजाङले पूर्वाधार विकास, आर्थिक समृद्धि तथा जनजीविकामा हासिल गरेको उपलब्धिले नेपालका लागि थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij