Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्।
यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ। तर अस्पतालले १ सय १० सिलिन्डरमात्रै पाउँछ। यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध गराउँछ। कम्पनीले कोटाअनुसार अक्सिजन नपठाएपछि केही दिनअघि अस्पतालका निर्देशक डा। दिनेश काफ्ले कम्पनीमै पुगेका थिए। सोधपुछ गर्दा कम्पनीले स्थानीयलाई अक्सिजन दिएको बताएको निर्देशक काफ्लेले सुनाए। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार तीनकुनेस्थित डिपोबाटै बिचौलियाले सिलिन्डर उठाउने गरेको पाइएको छ। ‘कम्पनीमा बिचौलियाले दादागिरी देखाउने, डिपोबाट पनि सिलिन्डर उठाउने गरेको सूचना आएको छ’, उनले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij