
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौँ । लामो समयदेखि पाइपलाइनमा रहेका आइपीओहरु यतिबेला धमाधम निष्कासन हुन थालेका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको विवादका कारण लामो समयदेखि निष्कासन अनुमति पाइसकेका आइपीओहरु पनि निष्कासन कार्य रोकिएको हो ।
यसैबीच, बलेफी हाइड्रोपावर लिमिटेडले बिहीबार माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
छिटोमा फगुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यसैबीच, इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ लाख ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने आज मंगलबार माघ २५ गते अन्तिम दिन हो । यसमा लगानीकर्ताले आज कार्यालयभित्र आवेदन दिइसक्नुपर्नेछ । जाल्पाले गत शुक्रबारबाट आइपीओ खुला गरेको हो । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबारसम्ममा २ अर्ब ७४ करोड १२ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) दिउँसो ४.५० बजेसम्म २२ लाख २६ हजार ९६९ जना आवेदकबाट २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन परेको हो। यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।
यस कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij