Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं ।कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि जन्मस्थल अर्घौंअर्चलेमा आज आयोजित मूल समारोहमा विभिन्न व्यक्ति सम्मानित भएका छन् । लेखनाथ पत्रकार मञ्चद्वारा सञ्चालित लेखनाथ पत्रकारिता पुरस्कार २०७७ बाट नेपाल टेलिभिजनका कास्की सम्वाददाता परशुराम आचार्य शर्मा सम्मानित हुनुभएको छ । उहाँलाई रु ११ हजार १११ नगदसहित सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिएको हो ।
उक्त अवसरमा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानद्वारा स्थापित मधुमाया ढकाल पुरस्कारबाट रञ्जना कुइँकेल, सविन अधिकारी फणीन्द्र कुमारी पुरस्कारबाट समीक्षा सुवेदी र चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट श्रीकृष्ण पौडेललाई सम्मान गरिएको थियो । उहाँहरूलाई वरिष्ठ साहित्यकार प्रा डा रविलाल अधिकारी, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेलगायतले संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा प्रा डा रविलाल अधिकारीले शास्त्रीय धाराका शिखर पुरुष लेखनाथ प्रगतिवादी सोचका भएको स्पष्ट पार्नुभयो । लेखनाथका कविताले नेपाली जनजीवनको प्रतिनिधित्व गरेको उहाँले बताउनुभयो । कवि शिरोमणिको जन्मस्थल अर्घौंअर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले कविको जन्मस्थल अर्घौंअर्चलेको विकासमा महानगरका तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो । वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले अर्घौंअर्चलेलाई साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने उल्लेख गर्नुभयो ।लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले सबैको साथ र सहयोगले अर्घौंअर्चलेलाई चिनाउन सकिएको धारणा राख्नुभयो । जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेले अर्घौंअर्चलेलाई साहित्यिक सिर्जनाग्रामको रुपमा विकास गराउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, सम्मानित व्यक्तित्व परशुराम आचार्य शर्मा, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेललगायतले लेखनाथका कृतिले सिर्जना र प्रगतिवादी सोचको विकास गराएको धारणा राख्नुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij