
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरू आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा पुगेका छन् । आरोपितहरूमध्ये मीनबहादुर गुरुङ धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।
राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानुनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ । उनीहरू तीनै जनाले आफूहरूलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेर बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।
हदम्याद सकिएको अवस्थामा आफूहरूमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरूको जिकिर छ । उनीहरू तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
ललिता निवास जग्गा प्रकरणका १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए । जसमध्येका ३ जना पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका हुन् । त्यही बाटो समाउन अरु आरोपितहरू पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij