
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रुपैयाँ अनियमितता भएको विषयले लामै समय चर्चा पायो । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्यो ।
अन्तिम चरणको छानबिनमा भने जलहरीमा भ्रष्टाचार नभएको भनेर अख्तियारले निष्कर्ष निकाल्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए । उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा पनि उक्त विषय उल्लेख थियो । प्रतिवेदनमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी लगाउने सन्दर्भमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख भएपछि संसद्सम्म तात्ने अवस्था भयो ।
पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरिएको थियो । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रुपैयाँ रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij